दफा २०
विदेशी निर्माण व्यवसायीले सहुलियतमा पैठारी गरेका मेशिनरी औजार आदि अन्यत्र प्रयोग गर्न नहुने
(१) दफा १९ बमोजिम विदेशी निर्माण व्यवसायीले आयात गरेको सवारी साधन, मेशिनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणहरु जुन कार्यको लागि आयात गरिएको छ सोही कार्यको लागि मात्र प्रयोग गर्नु पर्नेछ । नेपाल सरकारको स्वीकृति नलिई त्यस्ता सवारी साधन, मेशिनरी औजार, यन्त्र तथा उपकरणहरु अन्य कार्यको लागि प्रयोग गर्नु हुँदैन ।
(२) दफा १९ बमोजिम विदेशी निर्माण व्यवसायीले आयात गरेका सवारी साधन, मेशीनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणहरु सार्वजनिक निर्माण कार्य समाप्त भएपछि फिर्ता नलगेमा त्यस्ता सवारी साधन, मेशीनरी औजार तथा अन्य यन्त्र तथा उपकरणहरुमा प्रचलित कानून बमोजिम लाग्ने कर, दस्तुर, महसुल आदि समेत असुल उपर गरिनेछ ।